बर्दिबास–९ पशुपतिनगर गोमस्ताटोलका ५५ वर्षीय भीमबहादुर आले मगरले पुसको जाडोमा पनि बारनघर (सुर्ती सुकाउने पक्कीघर) मा एकछिन पसेपछि खलखली पसिना आएकोे बिर्सनु भएको छैन । आफ्नो बस्ती र छिमेकका बस्ती जहाँ हेरेपनि भर्जिनियाँ सुर्ती खेतीमात्र देखिने चार दशकअघिको कुरा अब स्मृतिमा मात्र रहेको उहाँ बताउनुहुन्छ । “जुन गाउँबस्तीमा हे¥यो, बारनैबारन ! फाँटभरि सुर्तीका लहलहाउँदा बोट । अनि हिउँद लाग्यो की सुर्तीका पात टिप्ने, पात फट्टा (भाटा) गाँथ्ने, सुर्तीको पात गाँथिएको फट्टा बारनघरमा झुण्ड्याउने र सात दिनपछि फट्टा निकाल्ने चटारो हुन्थ्योे”, लयमा हुने सुर्ती खेतीका काम सम्झँदै आले भन्नुहुन्छ, “देख्दादेख्दै जिल्लाको उत्तरी क्षेत्रका बस्तीपिच्छे देखिने बारनघर ढले, अब त सुर्ती खेतीको नामोनिसान देखिदैन ।” समूहमा गरिने त्यो कामको रमाइलो आलेलाई अझै सम्झना छ । आलेले बालापन सम्झनुभएजस्तै करिब चार दशकअघिसम्म जिल्लाका उत्तरी क्षेत्रका हालका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रका करिब एक सयभन्दा बढी बस्तीको मुख्य खेती नै भर्जिनिया सुर्ती थियो । समयक्रममा जनकपुर चुरोट कारखाना धरासायी बन्दै गएसँगै बारनघरका लागि कोइला र दाउराको अभाव हुन थालेपछि घट्दै गएको यो खेतीको अहिले नामनिशान नै देखिँदैन ।