नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् । गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । अघिल्लो कार्यकालमा चितवनबाट निर्वाचन जित्नु भएका उहाँले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गर्नुभएको थियो । ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री नहुँदा पनि ‘प्रचण्ड’को क्षेत्र र महानगर पूरै भागमा गएको पाँच वर्षमा रु ४० अर्बभन्दा बढीका योजना परेका थिए । ती सबै योजनामा मुख्य भूमिका प्रधामन्त्री दाहालकै थियो । चितवन क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाको आधाभन्दा बढी भाग र माडी नगरपालिका पूरै पर्दछ । आफूले निर्वाचन जितेको क्षेत्रमा अरु धेरै विकासका काम गर्ने उहाँका कतिपय योजना अधुरै छन् । गोरखाबाट निर्वाचन जितेपनि प्रधामन्त्री दाहाल चितवनको अभिभावक भएकाले विगतमा झै जिल्लाको विकास निर्माणमा महत्वपूण भूमिका रहने नगरप्रमुख दाहालले बताउनुभयो ।