माघे सक्रान्ती अर्थात् माघी पर्वका अवसरमा दाङका धार्मिक तथा पर्यटकीयस्थलमा मेला लाग्ने भएको छ । घोराही उपमहानगरपालिका –१३ को बाह«कुने ताल(दह) र लमही नगरपालिका–९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दछ । यस वर्ष यी दुवै स्थानमा माघी मेला लाग्ने भएको हो । लमही–९ रिहारस्थित धार्मिक एवं पर्यटकीयस्थल बगारबाबा धार्मिक पर्यटन क्षेत्रमा माघीको अवसरमा मेला लाग्ने भएको छ । बगारबाबा धार्मिक पर्यटन विकास समितिले धार्मिक क्षेत्र सरसफाइ गरेको छ । मन्दिरमा भक्तजनको घुइँचो लाग्ने हुँदा सरसफाइ गरिएको बगारबाबा धार्मिक पर्यटन विकास समिति रिहारले जनाएको छ । यस क्षेत्रमा विशेष गरेर भारतीय पर्यटक आउने गर्दछन् । बगारबाबा धार्मिक पर्यटन विकास समिति रिहारका अध्यक्ष रवीन्द्र खत्रीले माघीको समयमा मेला लाग्ने भएकाले मन्दिर परिसर सरसफाइ गरिएको बताउनुभयो । उहाँले अब प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाइ कार्यक्रम गर्ने जानकारी दिनुभयो । स्थानीय पर्यटन क्षेत्रको सांस्कृतिक पहिचान संरक्षण गर्न प्रत्येक वर्ष माघको १ गते मेला लाग्दै आएकामा यसवर्ष पनि निरन्तरता दिइने बताउनुभयो । लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङलगायत भारतबाट पनि भक्तजन आउने गर्दछन् । यस ठाउँमा पुसको २५ गतेदेखि चहलपहल सुरु भई माघको ३ गतेसम्म मेला लाग्ने गर्दछ