सरोकारवाला संस्थाबीच सहकार्य, समन्वय र सहजीकरण नै कोभिड–१९ रोकथाम तथा नियन्त्रणको अचुक अस्त्र भएको आज विराटनगरमा आयोजना गरिएको एक अन्तक्र्रियामा निष्कर्ष निकालिएको छ । कोभिड–१९ लगायत महामारीजन्य रोगको रोकथाम, नियन्त्रण तथा निगरानीका लागि सरोकारवालासँगको अन्तक्रिया कार्यक्रममा विश्वमा कोरोनाले आक्रान्त पार्न थालेको र यसको चपेटामा परेर मृत्युदर पनि तीव्र गतिले बढिरहेको भन्दै स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउनुपर्नेमा जोड दिइएको थियो । विराटनगर महानगरपालिकाले आयोजना गरेको अन्तक्रियामा सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, निजी संस्था, सञ्चारकर्मी, सुरक्षाकर्मी, चिकित्सक, अस्पताल, मेडिकल कलेज, निजी अस्पताललगायत विभिन्न निकायको कोरोना रोकथामका लागि जिम्मेवारीपूर्ण भूमिका हुने प्रष्ट पारिएको थियो ।