अन्नपूर्ण गाउँपालिका-२ भूरुङतातोपानीदेखि अन्नपूर्ण गाउँपालिका-६ पाउद्वारको तातोपानीकुण्ड जानका लागि कालीगण्डकी नदीमा स्थायी पुल नहुँदा अस्थायी काठेपुलको प्रयोग गर्नुपर्ने बाध्यता छ । बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत पर्ने यो सडकखण्डमा हिँउदमा मात्रै प्रयोग गर्न मिल्ने काठेपुल पनि स्थानीय एक युवाले व्यक्तिगत लगानीमा निर्माण गरेका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारले पुल निर्माणमा चासो नदेखाएपछि स्थानीय युवाकुमार तिलिजाले व्यक्तिगत रु एक लाख लगानी गरी काठेपुल निर्माण गरेको बताउनुभयो । स्थानीय प्रविधिको प्रयोग गरी निर्माण गरिएको उक्त काठेपुल हिउँदको समयमा मात्र प्रयोग गरिन्छ । बर्खामा कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुने भएकाले तातोपानी कुण्डमा उपचारका लागि जाने बिरामी र अरु पर्यटक नारच्याङको बाटो हुँदै एक घण्टा समय खर्चेर पाउद्वार तातोपानी कुण्डमा पुग्नुपर्ने बाध्यता छ । पुल नहुँदा नारच्याङ पुगेर करिब एक घण्टाको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटाउन कालीगण्डकीमा अस्थायी पुल निर्माण गरिएको तिलिजाले जानकारी दिनुभयो । “यस कुण्डमा नियमित रुपमा स्नान गर्ने बिरामी र पर्यटकसमेत आउने गर्छन्, तर बाटो घुमाउरो हुँदा आवतजावतमा झण्झट भएकाले हिउँदयामको लागि मात्रै भए पनि अस्थायी साँघु बनाएका हौँ”, उहाँले भन्नुभयो । पुल बनाउन काठका फ्ल्याक, बाँस र ग्याबियन झाली प्रयोग गरिएको छ । वारपार गर्दा सुरक्षाका लागि पुलको दाँयाबाँया काठकै रेलिङ हालिएको छ ।