सदरमुकाम दुनै-ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन । भेरी करिडोर अन्तर्गत पर्ने सडकखण्ड निर्माणका लागि २०७८ साल चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएपनि अझै काम सुरु नसकेको हो । नेपाल–चीनको सीमावर्ती क्षेत्र मोरिम्ला नेपाल हुँदै भारतको रुपैडिया जोड्ने महत्वपूर्ण रणनीतिक तथा व्यापारिक सडकखण्ड अन्तर्गतपर्ने यस खण्डको काम यथाशक्य रु गराउन कार्यालयले बारम्बार ताकेता गरेपनि निर्माण कम्पनीले अझै काम सुरु नगरेको सडक डिभिजिन कार्यालय चौहरजहारीका इञ्जिनियर दिलीप यादवले गुनासो गनुभयो । “दुई पटक ठेक्का किन नतोड्ने व्यहोरा सहितको ताकेता पत्र काटिसकेका छौँ, एउटा पत्र गत मङ्गलबार सात दिनको समयसीमा राखेर काटिएको छ, यदि सात दिनभित्र सम्पर्कमा नआएर ठेक्का तोड्ने प्रक्रियामा जान्छौ”, इञ्जिनियर यादवले भन्नुभयो । “सम्झौता भएलगत्तै काम सुरु गर्ने भनेर रु ५५ लाख पेश्की रकम रकमसमेत गइसकेको छ, ठेकेदारका कारण काममा ढिलासुस्ती भएको हो”, उहाँले थप्नुभयो । आयोजनामा कूल लागत रु १३ करोड ४१ लाख खर्च हुनेछ । सडकखण्ड दुनै–ल्यासीक्याप सडकखण्ड काइके,डोल्पोबुद्ध गाउँपालिका हुँदै नेपाल–चीन सिमामा पर्ने मोरिम्ला नाका पुग्नेछ ।
