“मन्त्री हुनुअघि जे सोचेको थिएँ, जुन कामको अपेक्षा गरेको थिएँ त्यो गर्न सकिन” सोमबार मन्त्रालयबाट बाहिरिँदै गर्दा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भावुक मुद्रामा भन्नुभयो । पर्यटनमन्त्रीका रुपमा पर्यटन क्षेत्रको संस्थागत विकासका लागि नीतिगत योजना बनाउने कामले पूर्णता पाएको अनुभूति नभएको जाँदाजाँदै उहाँले गुनासो गर्नुभयो । आज पर्यटन मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा उहाँले ३९औँ पर्यटनमन्त्रीका रुपमा एक सय ८३ दिन काम गर्दा कैयन काम ‘पाइपलाइनमा’ रहेकाले काम अधुरै भएको दाबी गर्नुभयो । पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री हुनुभएको थियो । विसं २०७९ असार १२ गते जीवनराम श्रेष्ठ पर्यटनमन्त्रीको जिम्मेवारी लिनुभएको थियो । पर्यटनमन्त्रीको लामो लस्कर र समयावधिमा पनि पर्यटन क्षेत्रको दीर्घकालीन विकास हुननसक्नु विडम्बना भएको उहाँको गुनासो छ । यद्यपि आफूले छ महिनाको छोटो कार्यकाल पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन रणनीतिक प्रभाव पार्ने काम गर्ने प्रयास गरेको जिकिर गर्नुभयो ।