मेलम्ची बजारको बढ्दो चापलाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजारका भित्री तथा वैकल्पिक सडक निर्माणलाई तीव्रता दिएको छ । मेलम्ची बजारस्थित नमूना मार्गमा अहिले भित्री सडक निर्माणको काम भइरहेको नगरपालिकाका इञ्जीनियर जितबहादुर कार्कीले जानकारी दिनुभयो । भवन तथा सहरी विकास कार्यालय धुलिखेलमार्फत विनियोजित रु ५० लाख बजेटले काम भइरहेको सो सडक निर्माणपश्चात बजारको सवारी चाप केही हदसम्म न्यून हुने नगरपालिकाले अपेक्षा गरेको छ । मापदण्ड नपुगेका स्थानमा कम्पाउन्ड भत्काएर सडक विस्तार गरेको कार्कीले बताउनुभयो । पूर्वाधार विकास कार्यालय चौताराको सहयोगमा सोही सडकमा पर्ने जागेश्वरी पक्की पुल निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । पुल निर्माणको काममा केही ढिलासुस्ती भएको स्थानीयवासीको गुनासोपछि नगरपालिकाले पटक–पटक ताकेता गरे पनि पुस मसान्तसम्म सडक र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको इञ्जीनियर कार्कीले जानकारी दिनुभयो । नगरप्रमुख आइतमान तामाङले नगरपालिकाले भित्री सडक निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । साथै टार–पिपलबोट भित्री सडक निर्माणका लागि समेत रु दुई करोड विनियोजन भई खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।