सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलले मानवका लागि आध्यात्मिक र भौतिक दुवै ज्ञानको समान महत्व हुने बताउनुभएको छ । सन्त निरंकारी मण्डल नेपालद्वारा ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोलस्थित नवनिर्मित सत्सङ्ग भवनमा शनिबार आयोजित बृहत् सत्सङ्ग कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव हितका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन, आध्यात्मिक र भौतिक विकास एकसाथ अगाडि लैजानुपर्छ ।” सन्त निरंकारी मिसनका वर्तमान सत्गुरु सुदीक्षाजी हुनुहुन्छ । विश्वमा मानव एकता, भाइचारा र शान्ति स्थापनाका लागि सन्त निरंकारी प्रयत्नशील रहेको जनाइएको छ । नेपालमा सन् २०२० देखि सत्सङ्ग सुरुआत भएको थियो । हाल देशको ३५ जिल्लाका विभिन्न स्थानमा नियमितरूपमा सत्सङ्गहरू सञ्चालित रहेका कार्यक्रममा जानकारी दिइयो । सो मानवीय सस्थाले वृक्षरोपण, सरसफाइ, रक्तदान, आँखादान, प्राकृतिक आपत्विपद्मा पीडितको उद्धारजस्ता सामाजिक कार्यमा सक्रिय सहभागी भई योगदान दिइरहेको छ । धर्मले जोड्छ, तोड्दैन, धर्म होइन भावना परिर्वतन गरौँ, प्रदूषणभित्र होस् या बाहिर दुवै हानिकारक हुन्छन्, जस्ता भनाइलाई आत्मासात गर्दै ब्रम्हज्ञानमार्फत आफ्नो जीवनको कल्याणका लागि निरंकारी सन्त सेवा, सत्सङ्ग र सुमिरणमा निरन्तर लागिरहेको सस्थाले जनाएको छ । साथै मानव जीवनको लक्ष्य ईश्वरलाई जान्नु हो र यो कार्य समयका सत्गुरुको माध्यमबाट मात्र सम्भव छ भन्ने संस्थाको विश्वास रहेको छ ।