म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु भएको छ । रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८ को सीमा क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण थालेको हो । परियोजनासँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पक्की पर्खाल बनाउनका लागि नदी डाइभर्सन र जग खन्न थालेको बेनी नगरपालिका–७ का वडा सदस्य सोहन श्रेष्ठले जानकारी दिनुभयो । “कालीगण्डकीमा पानीको सतह नबढ्दै सक्ने गरी पक्की पर्खाल निर्माण सम्पन्न गराउन पहल गरिएको छ”, उहाँले भन्नुभयो, “बेनीको कालीगण्डकी नदी किनारको सबैभन्दा जोखिमयुक्त ठाउँमा कटान नियन्त्रण गर्न लागिएको हो ।” अहिले पक्की पर्खाल निर्माण गर्न लागिएको ठाउँमा यसअघि निर्माण भएको करिब एक सय ६० मिटर पर्खाल विसं २०७५ असोज र २०७८ असारमा कालीगण्डकीमा आएको बाढीले बगाएको थियो । सो ठाउँमा ग्याबियनको अस्थायी पर्खाल र ठूला ढुङ्गा थुपारेर कटान रोकथामको प्रयास गरिएको थियो । रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले २२ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ माघमा कालीगण्डकी र म्याग्दी नदी नियन्त्रणका लागि संरचना बनाउन रौताह–बिएनबी कन्ट्रक्सनसँग रु नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।