नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण समारोहमा देखिएको विविधतायुक्त उपस्थितिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको झझल्को प्रस्तुत गरेको छ । प्रतिनिधिसभाका दुई सय ७५ सदस्यमध्ये हिमालदेखि तराई मधेससम्मका आ–आफ्नै मौलिक जातीय पहिरनमा सजिएर आएका २६ जनाले १४ मातृभाषामा शपथ लिइरहँदा चार जात छत्तीस वर्णको फूलबारीकै भान भएको थियो । त्यसो त अघिल्लो प्रतिनिधिसभाका ४६ सदस्यले पनि ११ मातृभाषामा शपथ लिनुभएको थियो । विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावाई संरक्षण एवं प्रवद्र्धनका साथ वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद अन्त्य गर्दै समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गर्ने प्रतिबद्धताका साथ जारी भएको संविधानले उक्त अवसर जुटाइदिएको हो । जुम्लाकी विनिता कठायत, भोजपुरकी दुर्गा राई, पर्साका प्रदीपकुमार यादव, मोरङकी सोनु मूर्मू, सुनसरीका अशोककुमार चौधरी, धादिङका बिना लामा, चितवनका कल्पना मियाँलगायत नवनिर्वाचित सदस्य आ–आफ्नो जातीय वेशभूषासहित सदनमा आएर मातृभाषामा शपथ लिनुभएको हो । उहाँहरुले आ–आफ्नो क्षेत्र र समुदायबीचमा सीमित वेशभूषा र भाषा नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न सर्वाेच्च निकाय संसद्मा आएर देखाउन र सुनाउन पाएकामा गौरवको अनुभव भएको भनी खुसी व्यक्त गर्नुभयो । धनुषाबाट प्रतिनिधित्व गर्ने जनमत पार्टीका सांसद अनिता साह भन्नुहुन्छ, “हाम्रो क्षेत्रको पहिरन, बोलीचाली, भाषा बेग्लै छ, त्यस्तालाई राष्ट्रियस्तरमा ल्याएर सबैले हेर्न, सुन्न र देख्न पाउने अवसर मिल्यो, राष्ट्रिय सञ्चारमाध्यमले सबैलाई यो दृश्य देखाइदियो ।”