मङ्सिर–पुस महिना सुन्तलाको ‘सिजन’ नै हो । ग्रामीण भेगमा राताम्य देखिने सुन्तला हिजोआज बजार केन्द्रित छन् । समशितोष्ण हावापानीमा उत्पादन हुने सुन्तला अहिले पहाड तथा तराईका बजारमा जताततै भेटिन्छ । त्यसैमध्येको एक हो बुङ्गली सुन्तला । जिल्लाको बुङ्गल नगरपालिका अहिले सुन्तलाले प्रख्यात छ । बुङ्गलमा सुन्तला नफल्ने कुनै वडा छैन । उत्पादन भएको सुन्तलाले नजिकको बजार पाउँदैन । रूखबाटै टिपेर व्यवसायी सिधैँ सदरमुकाम पु¥याउँछन्, बजारभरि सुन्तला फैलन्छ र बेचिन्छ । बुङ्गल –७ का पदम बोहराको बारीमा सुन्तलाका ११ बोट छन् । हरेक वर्ष फल्ने सुन्तलाले लगानीअनुसारको पर्याप्त फल दिइरहेको छ । रोपेको दुई वर्षमै फल्न सुरु गरेको सुन्तला अहिले ढकमक्कै भएको छ । “गत वर्ष त झण्डै आठ–दश क्विन्टल बराबर सुन्तला फलेको थियो”, उहाँले भन्नुभयो, “आधा बिजगडा, बागथला, देउरा, देउलेख, झोतालगायतका स्थानीय बजारमा बेचेँ । धेरै दिन जान नपाएको हुँदा कतै पाहुना, छरछिमेकीले खाए त कति बारीमै सडे ।” किसान बोहराका अनुसार यस वर्ष भने उहाँको बारीमा झण्डै पाँच क्विन्टलमात्रै सुन्तला उत्पादन भयो । “यसपटक सबै बेचेँ । खर्च काटेर रु ६०–६५ हजार जति फाइदा भयो”, उहाँले भन्नुभयो । साविकको कृषि विकास कार्यालयबाट प्राप्त भएको सुन्तलाको बोटबाट बर्सेनि फाइदा भइरहेको उहाँले सुनाउनुभयो । “दुईवटा गरा (बारी)मा सुन्तला लगाएको छु । त्यसैले वर्षभरि नै खानलाई पुगेको छ । सुन्तला रोप्नुभन्दा अगाडि दुई डालो पनि गहुँ हुँदैनथ्यो । बुङ्गलमा पदममात्रै हुनुहुन्न, हरेक गाउँमा सुन्तला खेती गर्ने कृषक छन् । वडा नं ६ का दिनेश धामीले सुन्तला फलाउन लागेको एक दशकभन्दा बढी भइसक्यो । सुरुमा एउटै बोटबाट दुई–तीन डोका बराबर सुन्तला फलाउने धामी अहिले दर्जन क्विन्टलभन्दा बढी सुन्तला फलाउनुहुन्छ । “पहिले घरमा पुरानै बोट थियो । त्योबाट उत्पादन भएको सबै घरमा खाने, छिमेकीलाई बाँड्ने गरिन्थ्यो । अहिले भने १५–१६ बोट छन् । सबै फल्छन् । बजारमा बेच्न जान्छौँ । वार्षिक एक लाखभन्दा बढी नाफा हुन्छ”, उहाँले भन्नुभयो । बुङ्गल –६ थन्काँडाकी दुर्गादेवी देवारले सदरमुकाम चैनपुरमा होटल सुरू गरेको १२ वर्ष भयो । त्यस अवधिभर देवारले दर्जनौँ ट्रक सुन्तला बुङ्गलबाट ल्याएर बेच्नुभयो । पाँच वर्षयतामात्रै देवारले सिजनअनुसार बर्सेनि ३० देखि ४० क्विन्टल बुङ्गली सुन्तला बेच्दै आएको बताउनुभयो । सुन्तलाको व्यवसायबाट धेरै फाइदा नभए पनि घर खर्च चल्ने गरेको उहाँको भनाइ छ । “गएको हप्ता बुङ्गल नगरपालिका–५, ६ र ९ बाट २०–२२ क्विन्टल सुन्तला ल्याएका थियौँ”, उहाँले भन्नुभयो, “बुङ्गलको सुन्तला अन्य जिल्लामा पठाउँदा बढी खर्चिलो हुन्छ । कृषकसँग सम्पर्क गरेर हामी सदरमुकाममा ल्याउँछौँ । यता बजार पनि बुझेको हुँदा बेच्न पनि सजिलो हुन्छ ।”