कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउनुहुन्छ । दम्पतीसहित सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो । नदी किनारमै झुपडी बनाएर गिट्टी, बालुवा छानेर उहाँले वर्षभरिको जोहो गर्नुहुन्छ । “बगरमा गिट्टी, बालुवा छानेर परिवार पालेको छु यहाँ आउन थालेको आठ वर्ष भयो”, उहाँले भन्नुभयो, “भारत गएर काम गर्न सकेनौँ, यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ ।” उहाँले महाकाली नदीको नदीजन्य पर्दाथ नै आफ्ना लागि आयआर्जनको प्रमुख स्रोत बनेको बताउनुभयो । “यही गिट्टी, बालुवा सङ्कलन गरेर बिक्री गर्छौँ, हाम्रो आम्दानीको स्रोत भनेकै यही हो”, उहाँले भन्नुभयो, “नौ महिना हामी यही बगरमै बसेर काम गर्छौँ ।” उहाँजस्तै कञ्चनपुरको बेलौरी, बेल्डाँडी, कैलाली र डडेल्धुराबाट समेत आएर बगरमै टहरा बनाएर काम गरिरहेका छन् । महाकाली वरपरको तटीय क्षेत्रका दलित एवं विपन्न समुदायका अधिकांश परिवार अहिले बगरमै बसेर परिवारको परिवारको जोहो गरिरहेका छन् । भीमदत्त नगरपालिका–१२ ऐरीका ४५ वर्षीय किसन सोनाहाले पनि परिवारको जोहो गर्न बगरमा सङ्घर्ष गर्नुपरेको छ । परिवारको खर्च जुटाउनका लागि आफूहरूसँग यसको विकल्प नभएको उहाँले सुनाउनुभयो । “हाम्रो जातिको सुन छान्ने परम्परागत पेसा भए पनि अहिले हामी नदी किनारमा गिट्टी, बालुवा छानेर जोहो गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यहाँ सुन भेटिँदैन, बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन ।”