त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको बताउनुभयो । “हामीले त्रिवि पदाधिकारी, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचन गर्नका लागि उपयुक्त मितिका लागि छलफल ग¥यौँ”, उहाँले भन्नुभयो, “परीक्षा र भर्नालगायत सबै प्रक्रिया सकिने भएकाले नै स्ववियु निर्वाचन गर्ने फागुन २८ गते हामीलाई उपयुक्त समय लागेको छ, हामी सोही मितिको प्रस्ताव विद्यार्थी सङ्गठनसँग गर्छौँ ।” स्ववियु निर्वाचनको मिति प्रस्ताव गर्नका लागि यही पुस ११ गते विद्यार्थी सङ्गठनका अध्यक्षको बैठक बोलाइएको छ । निर्देशनालयका निर्देशक अधिकारीले उक्त मितिका लागि त्रिवि पूर्ण तयार भइसकेकोले विद्यार्थी सङ्गठनसँग छलफल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी सङ्गठनले उक्त मितिमा सहमति जनाए हामी निर्वाचनको मिति घोषणा गरेर निर्वाचन प्रक्रियामा जान्छौँ ।” त्रिविले स्ववियु निर्वाचन गर्न पटकपटक पहल गरे पनि हुन सकेको छैन ।
