तनहुँको व्यास नगरपालिकाले यही पुस ११ गतेदेखि पुस २० सम्म एकिकृत घुम्ती सेवामार्फत नगरवासीलाई घर आँगनमै पुगेर सेवा दिने भएको छ । सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र पञ्जिकरण एकाइबाट व्यक्तिगत घट्ना दर्ताको व्यवस्था मिलाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । योजना सम्झौता तथा किस्ता सिफारिस, बालीमा देखापर्ने रोगको जैविक बिषादी, तरकारीका उन्नत बीउ वितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिने छ । विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य, पाठेघरको मुख र स्तन क्यान्सर, औलो रोग, मधुमेह, उच्च रक्तचापलगायत परीक्षण गरिनेछ । कोभिड–१९को खोप, आङ खस्ने समस्या जाँच र उपचार, औषधि वितरण, स्वास्थ्य समस्याको परामर्श सेवा र दुईवर्ष मूनिका बालबालिकाहरुको वृद्धि अनुगमन र पोषण सम्बन्धि सेवा प्रदान गरिनेछ । आयुर्वेद एकाईबाट विभिन्न २५ किसिमका आयुर्वेद औषधि वितरण र आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धमा आवश्यक ज्ञान दिइने नगरपालिकाले जनाएको छ । पशु स्वास्थ्य सेवाको लागि उपचार, रोग निदान, सामान्य शल्यक्रिया, पशु स्वास्थ्यका लागि औषधि वितरण र पशु भ्याक्सिन लगायतका सेवा पशुपन्छी उपशाखाबाट प्रदान गर्ने व्यवस्था मिलाइएको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । ज्येष्ठ नागरिक परिचयपत्र वितरण,अपाङ्गता भएकाको परिचयपत्र र महिला विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम रहेको छ ।