म्यान्मारका अधिकारीहरूले बालबालिकासहित ११० भन्दा बढी रोहिंग्यालाई ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । म्यान्मारको ग्लोबल न्यू लाइटका अनुसार दक्षिणपूर्वी शहर बोगालेमा एक दर्जन बालबालिकासहित ११२ जनालाई पक्राउ गरिएको छ भने ३५ जनालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । उक्त समूहलाई ‘बङ्गाली’ भनिएको र प्रतिवेदनमा पक्राउ भएको मिति उल्लेख गरिएको छैन तर स्थानीय सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै डिसेम्बर २० को बिहान उक्त घटना भएको बताएका छन् । बङ्गलादेशबाट आएका आप्रवासीका रूपमा व्यापक रूपमा हेरिने मुस्लिम अल्पसङ्ख्यक समूहका सदस्यहरूलाई स्वास्थ्य सेवा र शिक्षाको पहुँचसहित नागरिकताबाट बञ्चित गरिएको छ, साथै, उनीहरूलाई अक्सर यात्रा गर्न अनुमति चाहिन्छ । ग्लोबल न्यू लाइटका अनुसार स्थानीय अदालतले समूहका ३५ जनालाई बिना कागजात यात्रा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ भने १८ वर्षमुनिका १३ जनालाई २० वर्ष नपुगुञ्जेल ‘ट्रेनिङ इन्स्टिच्युट’ मा राखिने छ । हरेक वर्ष हजारौं रोहिंग्याले आफ्नो ज्यान जोखिममा राखेर मलेसिया वा इन्डोनेसिया पुग्न जोखिमपूर्ण यात्रा गर्छन् ।