पूर्वप्रधानमन्त्रीद्वय नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सडकआश्रित मानवहरूको व्यवस्थापनको दायित्व सरकारले लिनुपर्ने बताउनुभएको छ । सडकआश्रित तथा बेसहारा मानवहरूको उद्धार गरी संरक्षण गर्दै आएको मानवसेवा आश्रमको टोलीले आज उहाँहरूसँग गरेको भेटवार्ताका क्रममा उहाँहरूले राज्यले गर्नुपर्ने काम गरेर आश्रमले उदाहरण प्रस्तुत गरेको बताउनुभयो । आश्रमको टोलीले आज टोखास्थित डा भट्टराईको निवासमै पुगेर भेटवार्ता गरेको थियो भने नेता झलनाथ खनाललाई आलोकनगरस्थित पार्टी कार्यालयमा भेटघाट गरेको थियो । भेटका क्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले आश्रमले गरिरहेका गतिविधिबारे जानकारी लिनुभएको थियो । “उनीहरूको व्यवस्थापनको काम राज्यले नै गर्नुपर्ने हुन्छ, तब मात्रै अभियान प्रभावकारी हुन्छ, त्यो नहुँदासम्म तपाईंहरू आफैँले जे अभियान चालिरहनुभएको छ त्यसलाई कायमै राख्नुहोस्”, डा भट्टराईले भन्नुभयो । उहाँले फरक प्रसङ्ग जोड्दै अस्थिर राजनीतिका कारण मुलुकमा विकासको गति अघि बढ्न नसकेको पनि उल्लेख गर्नुभयो । आलोकनगरमा भएको भेटघाटका क्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता खनालले यस्तो राम्रो काम गर्ने संस्थालाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सो क्रममा उहाँलाई आश्रमले १० वर्षमा गरेका गतिविधि समेटेर तयार पारिएको डकुमेन्ट्रीसमेत देखाइएको थियो ।