नेपालीले सन् १९४९ मा भएको मलाया युद्धमा देखाएको वीरताको कथामा फिल्म बनेको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’का बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा गोर्खा सैनिकले देखाएको बहादुरीसँगै युद्ध लडेको सैनिकको जीवनी प्रस्तुत हुने जानकारी दिइयो । “सैनिकले केकस्तो अवस्थामा युद्ध लडेका थिए भन्ने यसमा देखाएका छौँ । उहाँको परिवार र जीवनीसमेत समेटेका छौँ”, निर्देशक चाम्सले भन्नुभयो, “हामीले नेपालीले कायम गरेको वीरताको कथा फिल्ममार्फत विश्वलाई भन्नुपर्छ ।” आयोजित कार्यक्रममा फिल्मको टिजरसमेत सार्वजनिक गरियो । जङ्गल युद्धलाई देखाउँदा कठिनाइ भएकै कारण निर्माणमा लामो समय लागेको निर्देशक चाम्सले जानकारी दिनुभयो । “म आफैँ पूर्वसैनिक भएकाले पनि यसमा युद्ध लड्ने प्राविधिक शैली नै देखाएका छौँ । अन्य फिल्म जस्तो एउटा हिरोले नभई सम्पूर्ण टिमले वास्तविक झैँ यसमा युद्ध लड्नेछन्”, निर्देशक चाम्सले भन्नुभयो । पत्रकार सम्मेलनमा उपस्थित सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक शैलेन्द्र खनालले निर्देशक चाम्सलगायतको टिमलाई शुभकामना दिनुभयो । “नेपाली वीरताको कथालाई अन्य निर्माताले पनि पर्दामा ल्याउनुपर्छ । म यसमा गीतकारका रूपमा जोडिन पाउँदा खुसी छु”, पूर्वमहानिरीक्षक खनालले भन्नुभयो । उपस्थितले भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, सिनेम्याट्रोग्राफी तथा कलर ग्रेडिङलगायतको प्राविधिक पक्षको तारिफ गरेका थिए ।