फोक्सिङ्टार पुल १० वर्षपछि सञ्चालनमा, सडक नबन्दा समस्या कायमै
दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको सुनकोसीस्थित फोक्सिङ्टार पक्की पुल निर्माण सुरु गरेको १० वर्षपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । तराईसँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङ्टारमा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो । “तराईसँग सिधा यातायात सम्पर्क नहुँदा जिल्लाको भौतिक विकासमा समेत असर परेको थियो”, उहाँले भन्नुभयो, “ढिलै भए पनि सुनकोसीस्थित फोक्सिङ्टारमा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै आवतजावतका साथै दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ढुवानीमा सहज भएको छ । यसले जिल्लाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।” सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत सहजता हुने अपेक्षा गरिएको छ । पुल निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीका कारण ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्ने क्रममा राज्यकोषको करोडौँ रकम खर्च भएको थियो ।