पूर्वी नवलपरासीको कावासोती १६ शहीदनगर डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । पाँच शय्याको स्वीकृति पाएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि ६४ शय्या सञ्चालनमा ल्याइएको भए पनि पूर्वाधार र जनशक्तिको अभावको कारण सेवा प्रवाहामा समस्या आएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । कुल ३१ जनाको दरबन्दी रहेको अस्पतालमा अहिले १३ जना मात्रै दरबन्दीमा कार्यरत रहेका बाँकी करार, छात्रवृत्ति चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिले राखेका कर्मचारीको भरमा सेवा दिँदै आएको सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार हाल अस्पतालमा दरबन्दी, करार, छात्रवृत्ति चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिले राखेका कर्मचारी गरेर एक सय १८ जना कार्यरत रहेका छन् । जसमध्ये ५४ जना दरबन्दी, छात्रवृत्तिमा आएका चिकित्सक र नर्स र विभिन्न कार्यक्रमका प्राविधिक र अप्राविधिक कर्मचारीबाहेक ६४ जनाको खर्च अस्पताल व्यवस्थापन समितिले व्यहोर्नुपर्ने भएकाले पनि अस्पताललाई थप आर्थिक भार परेको हो । अस्पतालमा जनशक्ति मात्रै होइन पूर्वाधारको समेत उस्तै समस्या रहेको सूचना अधिकारी सुवेदीको भनाइ छ । अस्पतालसाविकको मध्यबिन्दु सामुदायिक स्मृति अस्पताल जुन धनधाञ्यान्चल ज्ञान महायज्ञ गरेर स्थापना गरिएको थियो त्यसैको पुरानै भवनमै सञ्चालित छ ।