जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी मेची रङ्गशालाको स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो भएता पनि विगत १८ वर्षयता फुटबलका ठूला र प्रतिष्ठित खेलहरू यो रङ्गशालामा हुन नसक्दा जीर्ण भएको हो । जीर्ण रङ्गशालाको स्तरोन्नति गर्ने उद्देश्यले भद्रपुर नगरपालिका, विभिन्न व्यवसायीहरू, उद्योगीहरूको संयुक्त पहलमा फागुन अन्तिम सातादेखि ‘भद्रपुर झापा गोल्डकप’ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । गोल्डकप समितिका अध्यक्ष दीपेश ढकालले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँगको छलफलपछि खेलको मिति तय हुने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । जिल्लाको सबैभन्दा पुरानो र व्यवस्थित मेची रङ्गशाला देशका चर्चित र सफल खेलाडीहरूको प्रारम्भिक खेल मैदान हो । अठार वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’ पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरू आयोजना हुन नसक्दा मेची रङ्गशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थति गर्न नसकिएको उहाँको भनाइ छ । उहाँका अनुसार प्रतियोगिताका विजेताले नगद रु १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु सात लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका लागि मेची रङ्गशालाको स्तरोन्नति सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।