अङ्ग्रेजी नयाँवर्ष र क्रिसमस पर्व आउन केही दिन बाँकी रहँदा राजधानीको मुख्य पर्यटकीयस्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई यो चहलपहलले व्यवसायीलाई केही राहत मिले पनि पूर्णरूपमा पर्यटक भरीभराउ हुन अझै समय लाग्ने व्यवसायी बताउँछन् । “मुख्यगरी भारतीय र फाट्टफुट्ट युरोप तथा अमेरिकाका पर्यटक देखिन थालेका छन्”, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा भन्नुहुन्छ । ठमेलमा साना तथा ठूला गरी झन्डै तीन सय होटल रहेका छन् । यस्तै तीन सयभन्दा बढी रेष्टुरेन्ट रहेका छन् । रात्रिकालीन व्यवसायी ९० को हाराहारीमा रहेका छन् । अध्यक्ष शर्माले अहिले ठमेलभित्र रहेका होटलहरूको क्षमताअनुसार सरदर ५० प्रतिशतको हाराहारीमा पर्यटकहरू रहेका छन् । परिषद्ले अहिले ठमेल क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सम्बन्धित निकायसँगको सहकार्यमा सडक बालबालिकाको व्यवस्थापन, तारको व्यवस्थापनलगायतको काम गर्दै आएको छ ।