कात्तिक र मङ्सिर महिना मौरीपालक कृषकका लागि उपयुक्त समय हो । मौसममा स्रोत खोज्दै मौरी चरनका लागि जिल्ला बाहिरबाट समेत कृषकहरू प्यूठानका विभिन्न ठाउँमा मौरी चराउन ल्याउने र चिउरी तथा तोरीको प्रशस्त मह काढ्ने गर्दथे । तर यस वर्ष मौरी किसानका लागि मौरी र मह दुवैमा क्षति पुगेपछि मारमा परेका छन् । कात्तिके मह खोज्दै किसानका घरमा पुग्ने ग्राहकले मह पाउन सक्दैनन् । विगत सात–आठ वर्षयता मौरीपालन गर्दै आएकी प्यूठान नगरपालिका–७ टिकुरीकी व्यवसायी पार्वता पोख्रेलले बैंकबाट रु १० लाख ऋण लिएर मौरीपालन व्यवसायलाई बढावा दिनुभयो । सिजनमा मह उत्पादन गरेर बैंकबाट लिएको ऋणको किस्ता तिरौँला भनेको मौरीलाई अरिङ्गालले सखाप पारेपछि यस वर्ष मह उत्पादन हुन नसकेपछि उहाँ चिन्तित हुनुहुन्छ । मह उत्पादन गरेर बिक्री गरी बंैकको ऋण तिर्ने सोच बनाउनुभएकी उहाँलाई अब कसरी किस्ता तिर्ने भनेर चिन्ता बढेको छ । उहाँ भन्नुहुन्छ, “सय गोला मौरी थियो, अरिङ्गागालले खाएर अहले मुस्किलले १० गोला छ । गत वर्ष करिब २० क्विन्टल मह काढेको हो । यस वर्ष एक केजी पनि काढिएन ।” उहाँको करिब पाँच लाख बरबरको मौरी सखाप भयो भने १० लाख बराबरको महमा क्षति भयो । यसरी हेर्दा उहाँको मात्रै १५ लाख बढीको क्षति भयो ।