केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पीडितलाई राहत रकम जुटाउन अभियान थालिएको छ । गत सोमबार साँझ भएको आगलागीबाट धन सम्पत्ति गुमाएर विस्थापित भएका आगलागी पीडित परिवारको सहयोगार्थ खोटाङ उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल, स्थानीय समाजसेवीलगायतको सक्रियतामा राहत रकम सङ्कलन अभियान सुरु गरिएको हो । बाक्सिला बजारमा मङ्गलबार सञ्चालन गरिएको घरदैलो अभियानबाट रु चार लाख ५५ हजार ९५ सहयोग रकम सङ्कलन गरिएको उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय केपिलासगढीका अध्यक्ष शिव राईले बताउनुभयो । “सङ्कलन भएको रकममध्ये रु दुई हजार आठ सय खाता खोल्न राखेर बाँकी रहेको रु चार लाख ५२ हजार दुई सय ९५ रकम मङ्गलबार नै अग्निपीडित परिवारलाई वितरण गरिएको छ”, उहाँले भन्नुभयो, “आगलागीबाट पीडित भएका तारादेवी राई, डिल्लीकुमार श्रेष्ठ, दिल गुरुङ, पवन श्रेष्ठ, हस्तकुमारी राई, लक्ष्मी राई, इन्द्रकला राई, रत्न गुरुङ र रमेश परियारलाई जनही रु ५० हजार दुई सय ५५ का दरले राहत रकम वितरण गरिएको हो ।”