प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन् । एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापति देउवालाई साथ दिने बताइसक्नुुभएको छ । साथै वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसदीय दलको नेतामा देउवाको उम्मेदवारीको प्रस्तावक नै रहनुभएको छ । यता कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा शशाङ्क कोइरालाले पनि आफू सभापति देउवाका साथमा रहेको बताउनुभएको छ । उहाँले हालै एक सार्वजनिक कार्यक्रममा मुलुक हाँक्न अनुभवी तथा परिपक्व नेता आवश्यक रहेकाले देउवा नै संसदीय दलको नेता चुनिने बताउनुभएको थियो । उहाँहरुको साथले सभापति देउवा संसदीय दलको नेता निर्वाचित हुने निश्चित भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सभापति देउवा झण्डै दुई तिहाइ बहुमतको नजिकमा हुनुहुन्छ, उहाँलाई कांग्रेसका सांसदले प्रत्यक्ष भेटेर पनि मतदान गर्ने बचन दिनुभएको छ । संसदीय दलको अङ्क गणितमा देउवालाई करिब ७६ सांसदको समर्थन रहने देखिएको छ ।”