शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ । मदिरा तथा सुर्तिजन्य पदार्थको कारोबार नगरपालिकाको मुख्य बजार गर्जमनी चोकबाट कलुवापुर चौराहसम्मको पूर्व–पश्चिम राजमार्गको उत्तर–दक्षिण दुई सय मिटर बजार क्षेत्रबाहेक अन्य सार्वजनिकस्थलभन्दा पाँच सय मिटर टाढामात्रै गर्न पाइने भएको छ । मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन निर्देशिका, २०७६ का शर्त पालना गर्न व्यवसायीले मञ्जुर गरेको व्यवहोरा सम्बन्धित वडा कार्यालयबाट तयार पारिने स्थलगत मुचुल्कासँगै सिफारिसपत्रमा स्पष्टरूपमा उल्लेख भएको हुनुपर्ने व्यवसाय दर्ता शाखाका प्रमुख लक्ष्मीदत्त पाण्डेयले बताउनुभयो । व्यवसाय दर्ताका लागि निवेदन, मुचुल्का र सिफारिस साथ आएका व्यवस्थायीको स्थानको निरीक्षण गरेरमात्रै अनुमति दिइने उहाँले बताउनुभयो । “नगरपालिकासँग कानुनी प्रावधान नहुँदा विगतमा विद्यालय, स्वास्थ्य संस्था, मठमन्दिरजस्ता धार्मिक महत्वका स्थान नजिकै मदिराजन्य र सुर्तिजन्य कारोबार गर्ने पसल राखिए थिए”, उहाँले भन्नुभयो, “त्यसलाई व्यवस्थित गर्न कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ ।” मदिराको सेवनले गर्दा सार्वजनिकस्थलमा हुने अवाञ्छित क्रियाकलाप, हो–हल्ला, झै–झगडालगायतका कार्य नियन्त्रण गरी कानुनी कारबाही गर्नका लागि कार्यविधिले मार्गप्रशस्त गरेको उहाँको भनाइ छ । प्रचलित कानुन र कार्यविधिबमोजिम व्यवसाय दर्ता नगरी मदिरा, सुर्तिजन्य र अन्य कारोबार गरेको पाइएमा नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा सुविधा रोक्का गर्न सकिने कार्यविधिमा कानुनी प्रावधान राखिएको छ ।