०५ पुस, नवलपरासी ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणी-दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक बनेको छ । छिमेकी मुलुकहरु भारत र चीन जोडने सडकका रुपमा रहेको त्रिवेणी-कोरोला सडकखण्डमा निकुञ्ज बाधक बन्दा समस्या परेको हो ।
गत शुक्रबार नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाको दोस्रो साधारणसभाको कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको गौरवको आयोजना अन्तर्गत रहेको त्रिवेणी-दुम्किबास सडकको काम अघि बढ्न नसकिएको स्वीकार गर्नुभयो ।
प्रदेश स्थापनासँगै गौरवको आयोजनाका रुपमा लिइएको त्रिवेणी-कोरला सडक अन्तर्गतको यो खण्डमा काम गर्न निकुञ्जका कारण समस्या भएको उहाँको भनाइ छ । युनेस्कोसँग समेत जोडिएको विषय भएकाले काम गर्न झन्झटिलो भएको उहाँको भनाइ छ । तर सचिवस्तरी निर्णय भएकाले काम छिट्टै सुरु हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश सरकारको पहिलो पाँच वर्षको कार्यकाल सकिएको छ तर प्रदेश स्थापनासँगै चर्चामा रहेको त्रिवेणी–कोरला सडक अन्तर्गतको त्रिवेणी –दुम्किबास सडक निर्माणको काम भने सुरु हुन नसकेको हो ।
दुम्किबासको बगुवनदेखि त्रिवेणीसम्मको करिब १९ किलोमिटर खण्डमा सडक निर्माण हुन नसकेको हो । सडकखण्डमा करिब आठ किलोमिटर चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्छ ।
विसं २०५९ अघि हुलाकी सडकका रुपमा सञ्चालनमा रहेको यस खण्डलाई गजेन्द्र मोक्ष जनतामार्ग नामाकरण गरी विसं २०६३ असोजमा यातायात सञ्चालन गरिएको थियो । विसं २०६४ जेठसम्म यातायात सञ्चालनमा रहेको यस सडकखण्ड चितवन राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगाएपछि बन्द भएको थियो ।
त्रिवेणी-दुम्किबास सडकखण्ड निर्माण गरी सञ्चालनका लागि पहल अघि बढिरहेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीको दाबी छ ।
सडक निर्माणका लागि विभिन्न स्तरमा पहल भएकाले काम अघि बढ्ने उहाँको भनाइ छ । “हामीले विभिन्न तहमा पहल गरेका छौँ, यो पालिकाको सडक मात्रै रहेन दुई देश जोडेने महत्वकाक्षी सडक पनि हो”, अध्यक्ष गिरीले भन्नुभयो ।
त्रिवेणी-दुम्किबास-झ्यालबास-डेढगाँउ-भीमाद-खैरेनी हुँदै पोखर जोडिने यो सडक खण्ड अन्तर्गत नवलपुरको झ्यालबास–डेढगाउँ खण्डमा भने गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरी काम अघि बढाएको छ ।