दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएपनि उपाधि उचाल्न सफल भयो । अर्जेन्टिना यसअघि सन् २०१४ मा फाइनल पुगेको थियो । उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । खेलको २३औं मिनेटमा अर्जेन्टिनाका खेलाडी लियोलन मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र फ्रान्सका ओस्मान डेम्बेलेले अर्जेन्टिनाका एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसको सदुपयोग गर्दै मेस्सीले गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा डि मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । मारियाले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । खेलको ८०औँ मिनेटमा फ्रान्सका लागि केलियन एमबाप्पेले पेनाल्टीमा गोल गरेका थिए भने त्यसको ८१औँ मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै खेल बराबरीमा पुगेको थियो । खेलको निर्धारित समयसम्म दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।