नारायणघाट बुटवल सडक विस्तारका क्रममा नवलपुरका १९ वटा खानेपानी उपभोक्ता समितिहरु प्रभावित भएका छन् । आयोजनाको पूर्वी खण्ड गैँडाकोटदेखि दाउन्ने सम्मको ६६.५ किलोमिटर सडक निर्माणको क्रममा १९ वटा खानेपानी उपभोक्ता समितिको ५७ किलोमिटर खानेपानी पाइपलाइन प्रभावित भएको जिल्ला खानेपानी उपभोक्ता महासङ्घका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो । अध्यक्ष भुसालका अनुसार ५७ किलोमिटर पाइपलाइन प्रभावित भएपछि नयाँ पाइपलाइन बनाउनका लागि करिब रु १० करोड खर्च लाग्ने भएको छ । सडकभित्र परेका पाइपलाइन हटाएर नयाँ पाइपलाइन विस्तार गर्न लाग्ने ठूलो खर्च निर्माण कम्पनिले नव्यहोर्ने भएकाले उपभोक्ता समितिलाई ठूलो आर्थिक भार पर्ने देखिएको हो । “५७ किलोमिटर नयाँ पाइपलाइन विस्तार र मर्मत गर्दा १० करोड बढी लाग्ने र यसले उपभोक्ता समितिहरुलाई आर्थिक भार परेको छ”, अध्यक्ष भुसालले बताउनुभयो । उहाँका अनुसार नयाँ पाइपलाइन विस्तार गर्दा सडकका दुवै किनारमा परेका ६३ मिलिलिटरका क्षमताका पाइपलाइनलाई हटाएर एक सय १० मिलिलिटरको क्षमताको पाइपलाइन विस्तार गर्ने गरी उपभोक्ता समितिहरुले तयारी गरेका छन् ।