ग्रामीण भेगमा अझै पनि भान्सामा परम्परागत चुलोको प्रयोग गर्नाले दमका रोगी बढेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ । चन्द्रकोट–४ का बलबहादुर पुन उमेरले ८५ वर्षको पुग्नुभयो । उहाँलाई दमसम्बन्धी समस्या पहिलेदेखि नै थियो तर, गाउँपालिकाको केन्द्र शान्तिपुरमा विशेषज्ञ डाक्टरसँग जाँच गराएपछि मात्र यसको बढी असर घरकै चुलोबाट भएको थाहा पाउनुभयो । चुलोबाट निस्कने धुवाँका कारण उहाँलाई फोक्सोसम्बन्धी दमले च्याँपेको हो । “घरमा सधैँ चुलोमै खाना पाक्छ, धुवाँ हुन्छ तर यसको असर मलाई थाहा थिएन”, उहाँ भन्नुहुन्छ, “डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो । ”