म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन् । जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमी बजार अभावले समस्यामा परेका हुन् । विगत छ वर्षदेखि धौलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरीअल्लो कपडा उत्पादन गर्दै आउनुभएका युवा उद्यमी किरन थापाले उत्पादन भएका कपडाको बजारीकरणमा समस्या भएको गुनासो गर्नुभयो । उहाँले अल्लोबाट उत्पादन गरेको कपडालाई कोट, पाइन्ट, टोपी, झोला, जुत्तालगायतका सामग्री बनाउनका लागि बेनी, पोखरा, काठमाडौँलगायतका ठाउँमा बजारीकरण गर्दै आउनुभएको छ । पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादन भएका अल्लो कपडाको माग र निर्यात घटेको कारण उद्यमी समस्यामा परेको थापाको भनाइ छ । “ विदेशमा निर्यात हुने अल्लो कपडाको परिमाण अत्यन्तै कम भएको छ, मेरो उद्योगमा मात्रै पाँच सय मिटर बढी कपडा गोदाममै थन्किएको छ”, उहाँले भन्नुभयो । उद्योगबाट अल्लोको थान कपडा उत्पादन गरेर बिक्री गर्दै आउनुभएका थापाले नौ जनालाई प्रत्यक्षरुपमा रोजगार दिँदै आउनुभएको छ । यस गाउँपालिकाको गुर्जा, मुदी, लुलाङ, मल्कवाङलगायतका जङ्गलमा खेर गइरहेको अल्लोलाई स्थानीयवासीबाट सङ्कलन गरी उद्योगमा प्रशोधन गरेर धागो बनाएर कपडा तयार गरिँदै आइएको छ ।