पाँचखाल नगरपालिकाले ‘पाँचखाल कृषि सहर’को नारा अवलम्बन गरेको पाँच वर्ष बित्यो । स्थानीय तहमा अघिल्लो कार्यकालमा निर्वाचित जनप्रतिनिधिको नगर–नारामा झुमेका यहाँका अधिकांश कृषक बर्सेनि उनीहरुको आश्वासनमा झुलिरहनुपर्ने बाध्यता रहँदै आएका देखिन्छन् । गत आर्थिक वर्षमा कृषि सामग्री माग गरेकामध्ये करिब १५ प्रतिशत कृषकलाई चालु आर्थिक वर्षमा सामग्री वितरण गरिएको नगर कृषि शाखाले जनाएको छ । गत वर्ष कृषकलाई प्रदान गर्नुपर्ने कृषि सामग्रीमध्ये ६६ पावर टिलर) हाले ट्रयाक्टर, १० पानी तान्ने पम्प, १५ च्याप कटर (भुसा काट्ने मेसिन), विषादी छर्ने पम्प ८४ वितरण गरिएको शाखा प्रमुख ईश्वर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वितरित सामग्री विशेष पकेट क्षेत्रलाई प्राथमिकतामा राखिएको हो । “कृषि सामग्री माग गरिएभन्दा निकै कम वितरण हुँदै आएको छ, नगरको कृषि क्षेत्रको बजेटले धान्दैन”, शाखा प्रमुख अधिकारीले भन्नुभयो । उहाँका अनुसार विगत पाँच वर्षको अवधिमा प्रत्येक आर्थिक वर्षमा कृषकले माग गरेकामध्ये १५ देखि ३० प्रतिशतसम्मलाई मात्र अनुदानमा वितरण गर्न सकिएको छ । नगरले कृषकलाई आधुनिकता एवं व्यावसायिकता उन्मुख गर्दै लैजाने उद्देश्यले यान्त्रीकरणलगायत सामग्री ५० प्रतिशत अनुदानमा प्रदान गर्दै आएको हो । स्थानीय कृषकले नगरको कृषि शाखामा चालु आवमा मौरी घारका लागि माग फारम भर्न थालेका छन् । मौरीघार नगरको पकेट क्षेत्र मानिएको ९ नं वडास्थित पलाञ्चोकमा वितरण गरिने योजना बनाइएको छ । “कृषकबाट प्राप्त निवेदनउपर छनोट गर्दा पकेट क्षेत्र तोकिएको स्थानलाई प्राथमिकतामा राख्ने गरिएको छ”, उहाँले भन्नुभयो ।