कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ । अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन् । जीर्ण अवस्थामा रहेको सो धर्मशालालाई पुरानै शैलीमा पुनःनिर्माण गरिएपछि सबैलाई लोभ्याएको छ । कलात्मक शैलीमा पुरानै स्वरुपमा बनाइएको धर्मशाला यतिबेला सामाजिक सञ्जाल, टिकटक, फेसबुकमा चर्चा बढ्दै गएको छ । आकर्षक बुट्टा भरेर चिटिक्क परेको धर्मशाला साथीहरुसँग अवलोकन गर्दै टिकटक बनाउन, फोटो तथा भिडियो खिच्न आएको कृष्णकला श्रेष्ठले बताउनुभयो । “हेर्दै आकर्षक खालको धर्मशाला बनेको छ, पुराना काष्ठकलाको प्रयोग गरिएको हुँदा यसले सबैलाई लोभ्याएको छ, रामपुरमा परम्परागत शैलीमा सबैलाई आकर्षित बनाउने संरचना तयार भएको छ”, उहाँले भन्नुभयो । रामपुर नगरपालिका–४ स्थित खोप्टारमा रहेको धर्मशाला हालसालै पुनः निर्माणको संरचना तयार भएपछि अवलोकन गर्नकै निम्ति आन्तरिक पर्यटक पुग्दछन् । यहाँ विवाहको बेहुला बेहुली फोटो तथा भिडियो कैद गर्न आउने गरेको स्थानीय जयन्ती घिमिरे बताउनुहुन्छ । विहान उज्यालो भएदेखि राति अबेरसम्म धर्मशालामा आउने जाने क्रम चलिरहेको घिमिरेले बताउनुभयो । कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धर्मशालामा २०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो । त्यसको पौराणिक अस्तित्व बचाइ राख्न पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो । लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) का रुपमा सञ्चालन हुँदै आएको थियो । पुरातत्व विभागको विशेष पहलमा करिब रु तीन करोड छ लाख ५३ हजारको लागतमा पुनः निर्माण गरिएको छ ।