विपद्पूर्व, विपद्को समय र विपद् पछिका तीनै चरणका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई पनि दृष्टिगत गरी सूचना, नीति तथा कार्यक्रमहरु बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा आज काठमाडौँमा भएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिहरुको समवेशीकरण तथा सहभागिता’ विषयक अन्तरक्रियाका वक्ताहरूले विपद्बाट सबैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू प्रभावित हुने भन्दै उनीहरूको सुरक्षाका लागि पनि प्रभावकारी कार्यक्रम बनाउनुपर्नेमा वक्ताको जोड थियो । उक्त कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिका समवेशीकरण तथा सहभागिताका लागि प्राधिकरणका तर्फबाट मानक निर्देशिकाहरू तयार गरी त्यसलाई स्थानीयकरण गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिका लागि पानी तथा सरसफाइमा पहुँचयोग्य अवस्थाका बारेमा आर्किटेक्ट दीपक केसीले विश्वका विभिन्न देशका उदाहरणसहित प्रस्तुतीकरण गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिको दैनिक जनजीवन सहज बनाउन मात्र नभएर आत्मसम्मानका लागि पनि पहुँचयोग्य संरचनाको आवश्यकता पर्ने बताउनुभयो । केसी स्वयम् अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले प्राधिकरणबाट भएका कार्यहरू, निर्माण भएका तथा भइरहेका कार्यविधि एवं निर्देशिका तथा अन्य नीतिगत व्यवस्थाबारे जानकारी दिनुभएको थियो ।