खेल क्षेत्रको प्रवद्र्धन गर्न यहाँका स्थानीय तहहरुले गाउँपिच्छे खेल मैदान बनाउने अभियान थालेका छन् । गाउँगाउँमा खेल मैदान निर्माण हुन थालेपछि खेलाडी उत्साहित छन् । जिल्लाको बेनी नगरपालिका सहित धौलागिरि, अन्नपूर्ण, मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाले वडावडामा खेल मैदान निर्माण गरिरहेका छन् । कतिपय वडामा स्थानीय युवा क्लब र विदेशमा रहेका गाउँका युवाको सहयोगमा खेल मैदान निर्माण भएका छन् । प्रदेश सरकार र स्थानीय तहको लगानीमा पनि म्याग्दीमा खेल मैदान निर्माण भएका छन् । फराकिला मैदानमा गाउँमा महिनैपिच्छे खेल प्रतियोगिता आयोजना हुन थालेपछि खेलाडीको प्रतिभा प्रष्फुटित हुनुका साथै उनीहरुको खेलप्रतिको रुचि बढेको रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनप्रसाद शेरपुञ्जाले बताउनुभयो । त्यसैगरी बेनी बजारमा निर्माणाधीन म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो खेलमैदानको प्यारापिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्ने काम सञ्चालन भएको जानकारी दिनुभयो ।