भारतीय जनता पार्टी (भाजपा)ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ । शनिबार बिहान महाराष्ट्रको मुम्बई र पुणेमा एकैसाथ सयौँ भाजपा कार्यकर्ता र नेताहरू हातमा प्लेकार्ड लिएर प्रमुख स्थानमा भेला भएर पाकिस्तानका विदेशमन्त्रीले प्रधानमन्त्री मोदीविरूद्ध गरेको अपमानजनक टिप्पणीको विरोध गरे । उनीहरूले पाकिस्तान र पाकिस्तानका विदेशमन्त्रीको पुत्ला दहन गर्दै उनीहरुविरुद्ध नाराबाजीसमेत गरेका थिए । भाजपा राज्य अध्यक्ष चन्द्रशेखर बावनकुलेले पुणेमा विरोध प्रदर्शनको नेतृत्व गरेभने मुम्बईका विभिन्न भागमा एकत्र भएका सयौँ भाजपा कार्यकर्ता र नेताले प्रदर्शन गरे। उनीहरूले पाकिस्तान सरकार र विदेशमन्त्रीको आलोचना गर्ने गीत पनि बजाएका थिए । बिलावल भुट्टो जरदारीले मोदीविरुद्ध गरेको अपमानजनक टिप्पणीले देशभर आक्रोश सृजना गरेको छ । भाजपाले देशभरका सबै राज्यको राजधानीहरूमा विरोध प्रदर्शन गरिरहेको छ ।