कैलालीको टीकापुरमा बर्सातको आकासे पानीबाट हुने डुबान न्यूनीकरणका लागि यतिबेला नाली निर्माणको काम हुँदै आएको छ । टीकापुर सतही ढल तथा मानव मलमूत्र व्यवस्थापन आयोजनाअन्तर्गत ढल निकासका लागि नालीको काम भइरहेपनि मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएर टीकापुर नगरपालिकालाई हस्तान्तरण भएको नौ महिना भइसकेको छ । नेपालकै सबैभन्दा ठूलो क्षमताको मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माण भए पनि त्यसलाई चाहिने मानव मलमूत्रको अभावले सञ्चालनमा समस्या भएको आयोजनाका परामर्श इन्जिनियर अरुण रोस्यारा बताउनुहुन्छ । उहाँका अनुसार नेपालकै ठूलो मात्रै नभई नमूनाका रुपमा मलमूत्र व्यवस्थापन केन्द्र स्थापना भएको छ । “मेसिन पूरा चलाउनुपर्दा दैनिक नौ हजार लिटर मलमूत्र आवश्यक पर्छ । अहिले महिनामा पनि त्यति सङ्कलन भइरहेको छैन”, इन्जिनियर रोस्याराले भन्नुभयो, “संरचना ठूलो भयो । चाहिने वस्तुको अभावका कारण सञ्चालनमा समस्या आएको हो ।” एउटा शौचालय भरिन एक दशक लाग्छ । नगरपालिकाभित्रको जनसङ्ख्याको आधारलाई हेर्दा केन्द्रलाई चाहिने मलमूत्र व्यवस्थापन हुनसक्ने अवस्था नभएको बताउँदै इन्जिनियर रोस्याराले मलमूत्रमा पनि ठोस वस्तुको मात्रा कम र तरल पदार्थको मात्रा बढी हुँदा त्यहाँबाट उत्पादन हुने मल उत्पादनसमेत हुन नसकेको बताउनुभयो ।