स्थानीय तहमा सञ्चालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम लोकप्रिय बन्दै गएको छ । यो कार्यक्रमअन्तर्गत सिन्धुपाल्पाल्चोक हेलम्बु गाउँपालिकाका विभिन्न वडाका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । हेलम्बु गाउँपालिकाभित्रका बस्ती–बस्तीका सडक सोलिङ गरेपछि बाह्रै महिना यातायात सञ्चालन हुने गरी अधिकांश सडक प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्तरोन्नति भएको हेलम्बुका रोजगार संयोजक शुभेक्षा आचार्यले बताउनुभयो । उहाँका अनुसार हेलम्बु–५ को बोल्दे सडक र गिजेडाँडा हँुदै माने जाने गोरेटो बाटो, वडा नं २ को गणेशेबगर सडक सोलिङ र वडा नं ४ को मङसाम टोल गोरेटो बाटो, सहबारी टोल गोरेटो बाटो प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यस वर्ष मर्मत तथा स्तोरन्नति गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारसँगै आफ्नो गाउँ विकास भएको हेलम्बु–५ का श्याम तामाङले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका बजेटमा नाली सोहोर्ने, सामान्य सडक मर्मतसम्भार गर्ने, सफाइ गर्ने भन्ने आम बुझाइ रहेकामा हेलम्बुमा भने सो कार्यक्रमअन्तर्गत दीर्घकालीन कार्य गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउनुहुन्छ । यसले रोजगारीसँगै पालिकामा विकासको लहर छाउने उहाँको भनाइ छ । कार्यक्रमका लागि यो आर्थिक वर्षमा रु ६१ लाख ४८ हजार बजेट रहेको पालिकाले जनाएको छ ।