Skip to content
सरकारी जागिरसँगै तरकारी खेती
कालीकोट खाँडाचक्र नगरपालिका–३ का ४९ वर्षीया जयप्रकाश पाण्डे पेसाले सरकारी जागिरे हुनुहुन्छ । तर उहाँ फुर्सदको समयमा घरमा नै बेमौसमी तरकारी खेती गर्नुहुन्छ । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय कालीकोटमा फोरम्यानको सरकारी जागिर पेसा गरिरहनुभएका पाण्डेले खाँडाचक्र–३ ताडीगाउँमा बेमौसमी तरकारी खेती गर्नुभएको छ । विसं २०६२ मा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयबाट सरकारी सेवा सुरु गर्नुभएका पाण्डे गाउँमा नै फुर्सदको समयका बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी लिने गर्नुभएको छ । “कार्यालयबाट बचेको समय, बिदाको दिन र बिहान बेलुका घरमा नै तरकारी खेती गर्छु”, उहाँले भन्नुभयो, “यसबाट आम्दानी र घरपरिवार चलाउनका लागि व्ययभार कम भएको छ ।” पाण्डे गाउँमा बेमौसमी तरकारी खेती, आलु, टमाटर, मुला, गाँजर, फर्सीलगायतका तरकारी खेती गर्ने गरेको उहाँले बताउनुभयो । “कालीकोटको सरदमुकाम बजार मान्म नजिकै रहेको छ”, उहाँले भन्नुभयो, “बजारको मागअनुसार मैले विभिन्नखाले तरकारी खेती गर्ने गरेको छु ।” आफ्नै बारीको १० हेक्टर जमिनमा तरकारी खेती गर्ने गरेको र त्यसमा परिवारले सघाउने गरेको पाण्डेले बताउनुभयो । “फुर्सदको समयमा मैले काम गर्ने गरेको छु । यसमा परिवारका अन्य सदस्यले पनि काम गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “सरकारी जागिरले मात्र परिवार पाल्न सकिँदैन । त्यसैले पनि तरकारी खेती गर्ने गरेको छु ।” सरकारी जागिरको सिलसिलामा विसं २०७३÷७४ मा दुई वर्ष मुगु जिल्लामा रहँदा घरमा तरकारी खेती श्रीमतीले गरेको र अहिले आफू घर नजिकैै रहँदा आफूले फुर्सदको समयमा तरकारी खेती गर्ने गरेको पाण्डेले जानकारी दिनुभयो ।
Like this:
Like Loading...
Page load link