पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारको कामसँगै सडक छेउमा रहेका यात्रु प्रतिक्षालय र सुस्ताउने चौतारी मासिएका छन् । नारायणघाट बुटवल सडक विस्तार गर्ने क्रममा बाटोको क्षेत्रभित्र पर्ने प्रायः चौतारा र यात्रु प्रतिक्षालय मासिएपछि सवारीसाधन कुर्न बस्ने यात्रुलाई असहज भएको छ । गाउँ समाजमा भएका समस्या र विवाद मिलानका लागि भेला हुने थलोका रूपमा समेत चौतारी नहँुदा पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् । केही वर्षअघिसम्म थकाइ मार्ने र चौतारीमा बसेर गफगाफ गर्ने मानिस ठाउँ–ठाउँका चौतारीमा प्रशस्त देखिन्थे । तर, अहिले वर–पिपल, स्वामीका बोटसहितका चौतारा देखिन छाडेका देवचुली–१५ का बलराम पोख्रेलले बताउनुभयो । “कुनै बेला धार्मिक आस्थाका कारण समेत रोपेर हुर्काएका वर पिपल चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सजिलो मात्र थिएन, गाउँ समाजमा भएका समस्या र विवाद मिलाउन भेला हुने थलोका रूपमा चौतारीको प्रयोग गरिन्थ्यो, तर बाटो विस्तारसँगै सबै मासिएर गए”, पोख्रेलले दुःखेसो गर्नुभयो । पोख्रेलमात्रै होइन, विगत तीन वर्ष अगाडिसम्म फुर्सदको समयमा आफ्ना उमेरका साथीसँग कावासोती–११ को लोकाहामा रहेको यात्रु प्रतिक्षालयमा भलाकुसारी गरेर दिन कटाउँदै आउनुभएका डबलबहादुर कुँवरको पनि त्यस्तै चिन्ता छ । चौतारी मासिदा अबका पुस्ताले चौतारी नै नदेख्ने हुन् कि भन्ने पिरले सताएको उहाँको भनाइ छ । पूर्व–पश्चिम राजमार्गको गैँडाकोटबाट दाउन्नेसम्म ६४.५ किलोमिटर, दाउन्नेबाट बुटवल चौराहासम्मको ४८.५ सहित एक सय १३ किलोमिटर सडकको क्षेत्रभित्र परेका चौतारी र यात्रु प्रतिक्षालय हटाइएको हो ।