प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको शुरुवआत गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महीना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेल पछि सुन्दरीजल बन्दीगृहका नामले चिनियो । यहीँ बसेर बिपीले ‘दोषी चश्मा’ कथा सङ्ग्रह बाहेकका साहित्यको रचना गर्नुभएको थियो । ‘दोषी चश्मा’ कथा सङ्ग्रह विसं २००८ मै प्रकाशन भइसकेको थियो । ‘दोषी चश्मा’ कथा सङ्ग्रह प्रकाशनपछि राजनीतिमा व्यस्त हुनुभएका बिपीलाई सुन्दरीजल बन्दीगृह साहित्य रचना गर्न वरदान सावित भएको थियो । यही बन्दीगृहबाट यौन मनोविश्लेषणवादी धाराका दर्जनौँ कृति नेपाली साहित्यले पाउन सक्यो । बन्दीगृहमा रचना भएका कृतिमा ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास कोइरालाले रचना गर्नुभएको थियो ।