प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट आज यहाँ विभूषित भएपछि आयोजित कार्यक्रममा सहभागी हुनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई जापान सरकारले प्रदान गरेको ‘ दि अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित हुनुभएकोमा बधाई ज्ञापन गर्दै यो देशले नै पाएको अनुभूति भएको बताउनुभयो । यस्तै वरिष्ठ नेता पौडेलले यो सम्मानका लागि जापानी जनता, सरकार, त्यहाँका सम्राट र राजदूतप्रति आभार व्यक्त गर्दै यो सम्मान नेपाल, नेपाली र कांग्रेस पार्टीप्रतिको सम्मान भएको महसुस गरेको बताउनुभयो । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान वरिष्ठ नेता पौडेललाई आज जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो । वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका संसदीय सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गर्नुभएको योगदानका लागि विभूषित गरिएको जनाइएको छ । जापानी सम्राट मेइजीले सुरु गर्नुभएको सो राजकीय सम्मान विश्वका विशिष्ट व्यक्तिलाई प्रदान गरिने सबैभन्दा उच्च सम्मान हो । वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापानमैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलोे अध्यक्षसमेत रहनुभएको थियो । उहाँ सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवद्र्धनमा पनि सक्रियरूपमा संलग्न हुनुहुन्थ्यो । सो कार्यक्रममा मन्त्रीहरु, नेपाली कांग्रेसका नेताहरु, सांसद एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरुको सहभागिता थियो ।