पर्वतको खेल क्षेत्र प्रवद्र्धन गर्न खेल मैदानको अभाव भएको छ । खेलाडीहरुका अनुसार पछिल्लो समय मैदान नहुँदा जिल्लाको खेलक्षेत्र समेत ओझेलमा परेको छ । “२० वर्ष अघि बडगाउँचौरमा धौलागिरिस्तरीय खेल हप्तैपिच्छे जस्तो हुने गथ्र्यो”, पूर्वफुटबल खेलाडी राजन गुरुङले भन्नुभयो, “अहिले टोलस्तरीय खेलसमेत हुन छाडिसकेको अवस्था छ । मापदण्डअनुसारको खेल मैदान नहुँदा एन्फाले दिने विभिन्न सेवासुविधाबाट फुटबल खेलाडी वञ्चितीमा पर्दै आएका छन् ।” अहिले सशस्त्र प्रहरीको ब्यारेक रहेको ८४ रोपनीको बडगाउँ खेल मैदानमा फुटबल, भलिबल, ह्याण्डबल, टेबल टेनिस, तेक्वान्दो, कराँते, हाइजम्प, लङजम्प, दौडलगायत खेलका खेलाडी दिनरात खेल मैदानमा भेटिन्थे । “विसं २०५४ तिर हुनुपर्छ, यही बडगाउँ चौरमा पहिलो पटक अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता भएको थियो, मैले गोल्ड मेडल जितेको थिएँ ।” ४५ वर्षका खेलाडी नरेश श्रेष्ठले भन्नुभयो, “अन्य जिल्ला पुग्दा पर्वतको खेलाडी भनेपछि बेग्लै सम्मानले हेर्ने गरिन्थ्यो । अहिले खेलाडी पाउनै मुस्लि देखिएको छ ।” अर्का कराँते प्रशिक्षक तथा कराँते महासङ्घ पर्वतका संयोजक राम श्रेष्ठले द्वन्द्वकालीन अवस्था र खेल मैदानको अभावले गर्दा पर्वत खेलकुदमा २० वर्ष पछाडि परेको बताउनुभयो । “सदरमुकाम कुश्मा खेलाडीको केन्द्र जस्तै थियो, फरक खेलका खेलाडी जम्काभेट हुन्थ्यो”, उहाँले पुरानो दिन सम्झँदै भन्नुभयो, “हामीले पनि बडगाउँ खेल मैदानमा कराँते सिकेका हौँ, त्योबेला बेग्लै जोश थियो, राष्ट्रका लागि खेल्नुपर्छ भन्ने हुटहुटी थियो । पछिल्ला दिनमा खेलाडीको खेलप्रति खासै उत्साह र चासो देख्दिन ।”