लाहुरेहरुको जिल्लाका रुपमा परिचित म्याग्दीबाट श्रमका लागि विदेशिने बढेसँगै खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । बाह्रै महिना खेती गरी जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयहरु कृषि गर्न छाडेर सहर पस्न थालेका छन् । जिल्लाबाट अधिकांश युुवाहरु श्रमका लागि विदेशिएपछि गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र बाँकी छन् । जिल्लाको बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा धेरैजसो खेतीयोग्य जमिन बाँझै देख्न सकिन्छ । सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका– २ बगरफाँटमा मात्रै २६ हेक्टरभन्दा बढी जमिन बाँझो रहेको स्थानीय चित्रबहादुर रिजालको भनाइ छ । “खेती गर्नका लागि जनशक्ति नै छैनन्, बुढाबुढीले गर्न नसक्ने भएपनि जग्गाजमिन बाँझै छाड्नु बाध्यता बनेको छ ।” उब्जाउ हुने जमिन बाँझो भएपछि स्थानीयहरु सदरमुकामदेखि खाद्यन्न किनेर खान थालेको मालिका– ३ का जगबहादुर बुढाको भनाइ छ । “कोही रोजगारी खोज्दै विदेश गए, विदेश नजाने गाउँ छाडेर सहर पसेपछि खेती गर्ने मान्छे नै पाइन छाडे”, उहाँले भन्नुभयो, “उत्पादन नभएपछि आयातित खाद्यान्न किनेर खानुको विकल्प छैन ।” केही स्थानमा खेतीयोग्य जग्गा ‘प्लटिङ’ हुने क्रम बढेको उहाँको भनाइ छ ।