विगत एक वर्षदेखि गुल्मी अस्पतालले प्लान्टको स्थापना गरेर अक्सिजन उत्पादन गर्दै आएको छ । कोरोना महामारीको समयमा अक्सिजन अभाव हुँदा बिरामीले ज्यान गुमाउनुपरेपछि नेपाल पत्रकार महासङ्घ गुल्मी, जिल्ला उद्योग वाणिज्य सङ्घ गुल्मी र नेपाल सरकारसमेतको पहल तथा सक्रियतामा प्लान्टको स्थापना भएको थियो । गुल्मी अस्पतालमा एक वर्षअघिसम्म बुटवलबाट सिलिण्डरमा अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता थियो । गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्याले पहिला अक्सिजन बाहिरबाट ल्याउँदा ढुवानीको समस्या र धेरै बिरामी भर्ना गर्न नसकिने समस्या हुने गरेको सम्झनुभयो । कोरोना महामारीको समयमा सङ्घसंस्था र सरकारको सहयोगबाट जिल्लामै अक्सिजन उत्पादन हुँदा बिरामीलाई राहत भएको छ । विसं २०७८ मङ्सिरबाट अक्सिजनको उत्पादन हुन थालेको हो । अस्पतालमा अहिले दैनिक ४० सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । एक सिलिण्डरमा छ हजार पाँच सय लिटर अक्सिजन हुन्छ । अक्सिजन साना, मझौला र ठूला गरी तीन तहका सिलिण्डरमा भरिन्छ । सानो रु पाँच सय, मझौला एक हजार र ठूलो एक हजार दुई सयमा बिक्री गरिन्छ । तर अस्पतालले सेवामूलक तरिकाले मात्र अक्सिजन उत्पादन गर्दै आएको छ । खपत कम हुँदै गएपछि अस्पतालले हप्तामा सोमबार र बिहीबारमात्र उत्पादन गरेको छ । पचास जना बिरामीलाई अहिले पनि एकैपटक मुटु र फोक्सोको दमसम्बन्धी उपचार गर्न सकिने अस्पतालका डा पच्याले जानकारी दिनुभयो । “सेवामूलकरूपमा अक्सिजनको उत्पादन गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “सामाजिक सङ्घसंस्थाको अगुवाइबाट निर्माण भएपछि धेरै राहत भएको छ”, उहाँले भन्नुभयो । अस्पतालले अब सघन उपचार कक्ष (आइसीयू) सञ्चालन गर्नेछ ।