खाद्यपदार्थको जोखिम न्यूनीकरण गर्न बाली भण्डारणमा प्रविधिको प्रयोग गर्न जोड दिइएको छ । राष्ट्रिय योजना आयोग र प्रदेश नं १ कृषि मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘प्रादेशिक खाद्यप्रणाली समीक्षा तथा योजना तर्जुमा गोष्ठी’का सहभागीहरुले बाली प्रशोधन, सञ्चय र बजार व्यवस्थापनका लागि प्रविधिको प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । घरेलुस्तरमा पोषण र सञ्चित तत्व नघटाउन पकाउने उपयुक्त विधि र भण्डारणका लागि तालिम प्रदान गर्नु आवश्यक रहेको उनीहरुको भनाइ छ । सहभागीले खाद्यान्नमा लाग्ने विभिन्न सङ्क्रमण न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै खाद्य तथा आहारको गुणस्तर अभिवृद्धि गराउन सहयोग पु¥याउनुपर्ने आवश्यकता औँल्याए । गोष्ठीमा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक महेश खरेलले ‘खाद्य प्रणाली रुपान्तरण प्रयास तथा भावीदिशा’ र कृषि मन्त्रालयका प्रशासन योजना तथा अनुगमन महाशाखाका प्रमुख पशुपति पोखरेलले ‘प्रदेश खाद्यप्रणाली संवाद पश्चात्का उप्लव्धि तथा भावि योजना’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कृषिमन्त्री झलकबहादुर मगरले गोष्ठीे शुभारम्भ गर्दै मानव जीवनमा खाद्य पोषणले निकै महत्व राख्ने भएकाले यसलाई जोगाइराख्न जोड दिनुपर्ने बताउनुभयो । उहाँले बालीमा विविधता तथा पहुँचका निम्ति बागबानी, फलफूल, तरकारी, दलहन, कुखुरा, माछापालनजस्ता खाद्य पदार्थलाई आयआर्जनको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।