विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ । करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक निर्माण रोकिएको थियो । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको सो सडकसँग जोडिएका स्थानीयको विवादका कारण सडक निर्माणले गति लिन सकेको थिएन । सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा घर जग्गा पर्ने पक्षबीच सडक निर्माणका विषयमा लामो समयदेखि विवाद बल्झिएको थियो । रामपुर नगरपालिकाको पहलमा अहिले सडक निर्माणको काम सुरु गरिएको छ । विभिन्न योजना सञ्चालनका क्रममा भएका अवरोध हटाउने सूचना जारी गरेको नगरपालिकाले अवरोध हटाउने र योजना सञ्चालन गर्न सहयोग गर्ने जिम्मा लिएसँगै विवादले रोकिएको सडक निर्माणको काम सुरु भएको हो । पिपलडाँडा–गैँडाकोट सडक योजनाअन्तर्गत विवादले रोकिएको मटेरी ठूलोटार क्षेत्रमा पर्ने चार सय ५० मिटर सडक ११ मिटर चौडाइ कालोपत्रसहित निर्माण कार्य हुने कालीगण्डकी करिडोर योजनाका इन्जिनियर विष्णुभट्टराई बताउनुहुन्छ । स्थानीयको अवरोधका कारण रोकिएको सडक निर्माणका लागि स्थानीयबीच आपसी समझदारीमा काम गर्ने भनिए पनि त्यो हुन नसकेपछि नगरपालिकाको सहयोगमा करिडोर सडक योजनाले डिपिआरअनुसार नै काम गर्न सुरु गरेको उहाँले बताउनुभयो । रामपुर नगरपालिका–२ भलायटारस्थित सडक निर्माण हुन सकेको छैन । सो सडकखण्डमा कालीगण्डकी करिडोर सडक योजनाको डिपिआरअनुसार नै निर्माण हुने उहाँले बताउनुभयो ।