काठमाडौँ महानगरपालिकाले २८औँ स्थापना दिवसको अवसरमा विभिन्न विधाका ४७ जनालाई पुरस्कार तथा सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा सप्ताहव्यापी समारोहको अन्तिम दिन आज २७ कर्मचारी, १३ जनप्रतिनिधि, पाँच पत्रकार, सशस्त्र प्रहरी हवल्दार वीरेन्द्रबहादुर साउदलाई जोखिमपूर्ण सेवा पुरस्कार र वत्सगोपाल वैद्यलाई कलाकार सम्मानसहित ४७ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । सम्मानतर्फ महानगर सेवा गौरवबाट सात जनप्रतिनिधि र पाँच कर्मचारीलाई प्रदान गरिएको छ । जनप्रतिनिधिमा वडा १० का अध्यक्ष रामकुमार केसी, वडा १३ का अध्यक्ष ध्रुवनारायण मानन्धर, १६ का अध्यक्ष मुकुन्द रिजाल, १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, वडा २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा २१ का अध्यक्ष उदयचूडामणि बज्राचार्य र वडा ६ का वडा सदस्य नरेन्द्र थापाले प्राप्त गर्नुभयो । जनप्रतिनिधिलाई पदकसहित रु एक लाख नगदसहित सम्मान गरिएको हो । कर्मचारीतर्फ निर्देशक बुद्धरत्न मानन्धर, नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, वरिष्ठ उद्यान सहायक इन्द्रलाल रेग्मी, कार्यालय सहयोगी (नाइके) देवी नेपाली, हलुका सवारी चालक सुरेन्द्र पोडे हुनुहुन्छ । उहाँहरूलाई पदक र प्रमाण पत्र प्रदान गरिएको हो ।