आयुर्वेदिक उपचार पद्धतिमा यहाँका स्थानीयवासीको जनविश्वास बढेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीयवासीको यस्तो उपचार पद्धतिप्रति जनविश्वास बढेको हो । आयुर्वेदिक उपचार पद्धतिको विषयमा जानकारी पाएसँगै दैनिकरूपमा एक सय जनासम्म उपचार गराउन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरको भनाइ छ । आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कानुसार गत आर्थिक वर्षमा आठ हजार चार सय १५ जना बिरामीले सेवा लिएका थिए । उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी र नशासम्बन्धीका रोगी रहेको कार्यालयको भनाइ छ । बिरामीको सुविधालाई ध्यानमा राख्दै स्वास्थ्य उपकरण विस्तारमा समेत ध्यान दिएको कार्यालयले जनाएको छ । तर दक्ष चिकित्सकको कमीले सेवा प्रवाहमा भने समस्या हुने गरेको छ । केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवा सञ्चालन गरिरहेको भए पनि चिकित्सकको अभावमा सेवा प्रवाह गर्न केही कठिनाइ रहेको कार्यालयले जनाएको छ । लामो समयसम्म ठुल्ठूला अस्पतालमा गएर एलोपेथिक विधिबाट उपचार गराउँदा रोग निको नभएको बताउँदै बिरामी उपचारका लागि जिल्ला आयुर्वेद उपचार केन्द्र पुग्ने गरेका छन् । स्थानीय केशरबहादुर श्रेष्ठले बाहिरका ठूला अस्पतालमा गएर उपचार गराउँदा निको नभएको रोग आयुर्वेदिक उपचारबाट निको भएको अनुभव सुनाउनुभयो । श्रेष्ठले भन्नुभयो, “खासमा हामीले यो उपचार पद्धतिको बारेमा जानकारी नपाउँदा समस्यामा परेका रहेछौँ । मेरो निकै लामो समयबाट ढाडमा समस्या थियो । उपचार गराउन विभिन्न सहरका ठूला अस्पतालमा गएँ, तर अहिले यहाँ उपचार गराउन थालेपछि निको हुँदै गएको छ ।”