अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आप्रवासी दिवस सप्ताहव्यापीरूपमा मनाउने एक पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । “वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञानः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने नारासहित १६ देखि २२ डिसेम्बरसम्म सप्ताहव्यापीरूपमा आप्रवासी दिवस मनाइने उहाँले बताउनुभयो । सचिव अर्यालले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका लागि पुनः एकीकरणको कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ मार्फत पालिकासँग सहकार्य गरिरहेको समेत बताउनुभयो । “देशको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यद्यपि रोजगारीका लागि विदेशिनु बाध्यता हो, यसको अन्त्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “अहिले हामीले एक सय ५० वटा पालिकासँगको सहकार्यमा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई पुनः एकीकरण गर्नका लागि काम सुरु गरेका छौँ ।”